उपप्राध्यापक प्रेम चलाउने कुटिएको मुद्दा सर्वोच्च अदालतमा, सुनुवाइ सकियो

नेपालभ्युज

उपप्राध्यापक प्रेम चलाउने कुटिएको मुद्दा सर्वोच्च अदालतमा, सुनुवाइ सकियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुगेको छ ।

सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासमा चलाउने कुटिएको मुद्दामा सुनुवाइ सकिएको छ ।

चलाउनेलाई आक्रमण गर्दाका मुख्य योजनाकार रहेको भनिएका योगेन्द्र रावलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिटसँगै उच्च अदालत पाटनको फैसलाविरुद्ध पुनरावेदन दर्ता गराएका थिए । सोही दुई मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सकिएको हो ।

चलाउनेमाथि आक्रमणको आरोपमा क्रमशः जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले छ जना दोषी रहेको फैसला गरेको थियो ।

आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई जिल्ला अदालतले २ वर्ष कैदको सजाय सुनाएको थियो । कैदसँगै काठमाडौं जिल्ला अदालतले २८ लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

घटनामा सहयोगी रहेको अभियोगमा दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको थियो ।

जिल्लाको फैसलालाई सदर गर्दै उच्च अदालत पाटनले समेत उनीहरूलाई दुई वर्ष कैद सजाय सुनाएको थियो । २२ माघ २०८१ मा कैदको विषयमा जिल्ला अदालतको फैसला नै सदर गर्दै उच्च अदालतले २८ लाख क्षतिपूर्ति रकममध्ये ४ लाख भने घटाइदिएको थियो ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।

उनीहरूलाई फिर्ता ल्याउनका लागि माग गर्दै उपप्राध्यापक चलाउनेले नेपालस्थित अमेरिकी र अष्ट्रेलियन दूतावासमा निवेदन समेत दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved