स्पेनलाई हराउँदै पोर्चुगलले दोस्रोपटक उचाल्यो नेसन्स लिग फुटबलको उपाधि

नेपालभ्युज

स्पेनलाई हराउँदै पोर्चुगलले दोस्रोपटक उचाल्यो नेसन्स लिग फुटबलको उपाधि

काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि उचालेको  छ। आइतबार मध्यराति जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै दोस्रोपटक नेसन्स लिगको उपाधि उचालेको हो।

निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयमा पनि खेल २-२ को बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो।

पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि गोन्सालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस र रुबेन नेभेसले गोल गर्दै आफ्नो टोलीलाई विजयी बनाए। यता, स्पेनका मिकेल मेरिनो, एलेक्स बेना र इस्कोले गोल गरे पनि अल्भारो मोराटाले पेनाल्टी मिस गर्दा स्पेन उपाधिबाट वञ्चित भयो।

खेलमा स्पेनले दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। खेलको २१औं मिनेटमा मार्टिन जुयामेण्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटमै नुनो मेन्डेसले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफको अन्तिममा (४५औं मिनेटमा) मिकेल ओयारजाबालले गोल गरेपछि स्पेन २-१ को अग्रताका साथ पहिलो हाफमा अगाडि रह्यो।

दोस्रो हाफको ६१औं मिनेटमा पोर्चुगलका स्टार सिनियर खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई पुन: बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

पोर्चुगलले यसअघि नेसन्स लिगको पहिलो संस्करण २०१८/१९ को उपाधि पनि जितेको थियो। त्यसयता फ्रान्सले सन् २०२०/२१ मा र स्पेनले सन् २०२२/२३ मा यो उपाधि जितेका थिए।

भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि पोर्चुगलबाट यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि बन्यो। यसअघि उनले सन् २०१६ को युरो र २०१९  को नेसन्स लिगमा पोर्चुगललाई उपाधि जिताएका थिए। यद्यपि, पोर्चुगलले फिफा विश्वकप फुटबलको उपाधि भने जित्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved