काठमाडौं । आज (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा बस्न सकिरहेको छैन ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद्मा अवरोध हुँदै आएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बिहान छलफल गरेका थिए ।
सभामुखले सिंहदरबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।
तर सत्तारुढ दलहरू कांग्रेस र एमालेले अडान नछोडेपछि बैठकमा कुनै सहमति जुट्न सकेन । उनीहरू गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउने कुरामा असहमत भए ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठक यतिबेला संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बैठकपछि गृहमन्त्री प्रकरण र संसद्को गतिरोधबारे आफूहरूको साझा धारणा आउने बताए ।
आफूहरूको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी दिएको उनले जानकारी दिए ।
गत जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।
Facebook Comment
Comment