माधव नेपाल प्रकरण

एकीकृत समाजवादीको निष्कर्ष : निष्कलंक व्यक्तिलाई षड्यन्त्रपूर्वक ढंगले भ्रष्टाचार मुद्दा लगाइयो

नेपालभ्युज

एकीकृत समाजवादीको निष्कर्ष : निष्कलंक व्यक्तिलाई षड्यन्त्रपूर्वक ढंगले भ्रष्टाचार मुद्दा लगाइयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना अध्यक्ष माधवकुमार नेपाललाई राजीतिक पूर्वाग्रह र योजनाबद्ध ढंगले भ्रष्टाचार मुद्दा लगाइएको निष्कर्ष निकालेको छ । पार्टीको आकस्मिक बैठकपछि बिहीबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले यसको डटेर सामना गर्ने बताए ।

‘हाम्रा अध्यक्ष प्रधानमन्त्रीसँगै राज्यका विभिन्न ओहदामा रहँदासमेत निष्कलंक हुनुहन्यो । उहाँलाई राजीतिक पूर्वाग्रह र योजनाबद्ध र षड्यन्त्रपूर्वक ढंकले मुद्दा लगाइएको छ । यसको पार्टीले डटेर प्रतिरोध र प्रतिवाद गर्नेछ ।’

यस्तै एकीकृत समाजवादीले बिहीबार नै यस प्रकरणबारे वकिलहरूसँग पनि परामर्श गरेको छ । उनीहरूका परामर्शका आधारमा परिस्थितिको सामना गर्ने निर्णयसमेत भएको उपाध्यक्ष ज्वालाले बताए ।

‘उहाँहरूले अध्यक्ष निर्दोष साबित हुने सबै प्रमाण पेस गरेर अदालती प्रक्रियामा जाऔँ भन्नुभएको छ । अब हामी त्यही गर्छौं,’ उनले भने ।

उपाध्यक्ष ज्यालाले पार्टी अध्यक्ष नेपालले अदालतबाट सफाइ पाउनेमा आफूहरू ढुक्क रहेको बताए । ‘अदालतबाट क्लिनचिट लिएर यो पूर्वाग्रही कदम हो भन्ने सन्देश दिइने छ,’ उनले थपे ।

यसैबीच एकीकृत समाजावादीले विज्ञप्ति जारी गर्दै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही पार्टीका विरुद्ध विगतदेखि नै षड्यन्त्रहरू गर्दै आएको र यो पनि त्यसैको निरन्तरता रहेको जनाएको छ ।

‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षड्यन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दैआएका थियौँ । यो हाम्राविरुद्ध षडयन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

काभ्रेको पतञ्जली योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध बिहीबार मुद्दा दायर भएको छ ।

नासिकास्थान, साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ नै बिगो माग गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved