काठमाडौं । भारतका बाबा रामदेवले आफ्ना सहयोगी आचार्य आचार्य बालकृष्णमार्फत भारतमा आयुर्वेदका क्षेत्रमा बजार कब्जा गरेको कम्पनी हो–पतञ्जली । भारतको हरिद्वारमा मुख्यालय रहेको यसका विभिन्न शाखाहरू भारतभर छन् । यसले भारतमा विभिन्न आयुर्वेदिक औषधि उत्पादन तथा वितरण गर्दै आएको छ । जसले कोरोनाकालमा भ्रामक विज्ञापन गरेपछि यसमाथि भारतमै कारबाही भएको थियो ।
योगबाट चर्चित भएर रामदेवले आयुर्वेदमा बजार जमाउँदै जाँदा नेपालमा पनि यसको विस्तार गरे । र, नेपालमै जडीबुटी खेती गर्ने तथा उत्पादन गर्ने भन्दै नेपालमा एउटा कम्पनी स्थापना हुन्छ । २०६४ साल असोज २० गते ‘पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल’ को नाममा दर्ता यो कम्पनीमा संस्थापक सञ्चालकहरूमा सुरुमा भारतको हरिद्वारको बहादरावादस्थित पतञ्जली योग पीठका योग गुरु स्वामी रामदेव, आचार्य बालकृष्ण र पञ्चायती अखडाका महन्त राजेन्द्र दास तथा भारतको कुरूक्षेत्रका राजेन्द्र सिंह रहेका थिए । २०८० को लगतअनुसार कम्पनीको सञ्चालकमा बाबा रामदेव संरक्षक र सञ्चालक अध्यक्षमा आचार्य बालकृष्ण तथा सञ्चालक सदस्यहरूमा शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफ छन् ।
यो कम्पनीको सुरु पुँजी ५० लाख रुपैयाँ हुने गरी कम्पनीको प्रबन्धपत्र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेस भएको थियो । काभ्रेमा २०६४ मै केही जग्गा किनेको यो कम्पनीले हदबन्दी छुट लिई जग्गा किनेको थियो । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ र १४ मा पर्ने करिब ६ सय रोपनी जग्गा यो कम्पनीले किनेको छ । १८ माघ, २०६६ मा माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो ।
त्यतिबेला पतञ्जलीले करिब ६ सय रोपनी जग्गा किनेको थियो । हदबन्दी छुट गरी जग्गा किनेकै केही महिनामा फेरि सो जग्गा पतञ्जलीले बेचेको छ । र यसरी बेच्न पनि माधव नेपालकै मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनियत भनी भ्रष्टाचारको आरोपमा बिहीबार मुद्दा दायर गरेको छ ।
२०६४ साल असोज २० गते दर्ता हुँदा ‘पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल’ का नाममा दर्ता भएको यो कम्पनीले पटकपटक नाम पनि परिवर्तन गरेको छ ।
पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको कम्पनीको नाम परिवर्तन गरी पतञ्जली योग पीठ कायम गरिएको थियो ।
कम्पनी वेबसाइटमा आफूलाई गैरनाफामूलक संस्था भनी परिचय दिइएको छ । पतञ्जली योग पीठ नेपालको वेबसाइटमा उद्देश्यबारे लेखिएको छ, ‘पतञ्जली योगपीठ ट्रस्टको स्थापना योग र आयुर्वेदलाई विश्व मानचित्रमा स्थापित गर्ने, वैदिक परम्पराका प्राचीन पाण्डुलिपिहरूको अध्ययन गर्ने, योग र आयुर्वेदसँग सम्बन्धित विभिन्न गतिविधिहरू र परियोजनाहरू सञ्चालन गर्ने उद्देश्यले गरिएको छ। ट्रस्टले योग र आयुर्वेद गतिविधिहरू, योग अनुसन्धान र आवास सुविधा व्यवस्थापन गर्छ। ट्रस्टले १०० भन्दा बढी अनाथहरूलाई पनि आश्रय दिएको छ र उनीहरूलाई आवास, खाना र शिक्षा प्रदान गरिरहेको छ ।’
यस्तै पतञ्जली आयुर्वेद नेपालको वेबसाइटमा भने आयुर्वेदको विकास र बढोत्तरीका लागि नेपाललाई एक आदर्शभूमि र बाँकी विश्वका लागि उदाहरण बनाउने लक्ष्य लिइएको उल्लेख छ । र यसको नेतृत्वकर्ता बाबा रामदेव र उनका शिष्यसमेत रहेका आचार्य बालकृष्णलाई मात्र देखाइएको छ ।
अख्तियारले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंहलाई मुख्य आरोपी बनाई मुद्दा दायर गरेको छ । बाबा रामदेव र आचार्य बालकृष्णमाथि भने मुद्दा चलाइएको छैन ।
Facebook Comment
Comment