काठमाडौं । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा जर्मनीमाथि पुनरागमन जित निकाल्दै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ ।
जर्मनीको घरेलु मैदान एलिएन्ज अरेनामा बिहीबार बिहान भएको खेलमा रोनाल्डोले १३७औं अन्तर्राष्ट्रिय गोल गरेपछि घरेलु टोलीलाई २-१ गोलले हराएर पोर्चुगल उपाधि नजिक पुगेको हो। रोनाल्डोले नुनो मेन्डेजको लो पासमा ६८औं मिनेटमा विजयी गोल गरेका थिए।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको केही समयपछि खेलको गतिरोध तोडिएको थियो। फ्लोरिन रिट्जले ४८औं मिनेटमा गोल गर्दै जर्मनीलाई पहिले अग्रता दिलाएका थिए।
फ्रान्सिस्को कोनसेइडोले ६३औं मिनेटमा पोर्चुगलका लागि बराबरी गोल फर्काएको सात मिनेटपछि नै रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे।
पोर्चुगलले सन् २०१९ मा सुरु भएको नेसन्स लिगको पहिलो संस्करणकै उपाधि जितेको थियो। अब पोर्चुगलले उपाधिका लागि स्पेन र फ्रान्सबीच हुने खेलको विजेतासँग खेल्नेछ।
Facebook Comment
Comment