हेटौँडा–काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द गरिँदै

नेपालभ्युज

हेटौँडा–काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द गरिँदै
फाइल फोटो

हेटौँडा । मकवानपुरकाे हेटौँडालाई काठमाडौंसँग जोड्ने मार्ग मानिने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिनका लागि बन्द हुने भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख वैकल्पिक मार्गको रुपमा चिनिने उक्त सडक आगामी जेठ २ देखि २० गतेसम्म बन्द हुने भएको हो ।

सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कामका लागि उक्त सडकखण्ड पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रशासनले मङ्गलबार एक सूचना जारी गर्दै पूर्वाधार विकास कार्यालय, हेटौँडाको अनुरोधमा सडक मर्मत तथा कालोपत्रेको काम सम्पन्न नहुँदासम्मका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

सडकको स्तरोन्नति कार्य जिल्लाको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने खण्डमा भइरहेको पूर्वाधार विकास कार्यालय हेटौँडाले जनाएको छ । काम तीव्र सम्पन्न गर्न र सवारी सुरक्षाका लागि सडक पूर्ण रुपमा बन्द गर्नुपरेको प्रशासनको भनाइ छ ।

यस अवधिमा प्रशासनले यात्रु तथा सवारीचालकहरूलाई कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकजस्ता अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved