काठमाडौं । बार्सिलोनाले एल क्लासिकोमा रियल म्याड्रिडमाथि रोमाञ्चक ४–३ को जित निकाल्दै ला लिगा उपाधि होडमा बलियो पकड बनाएको छ । लुइस कम्पनीस ओलम्पिक स्टेडियममा आइतबार राति सात गोलको थ्रिलर खेलमा घरेलु टोलीले जित हासिल गरेको हो ।

यो जितसँगै ला लिगामा बार्सिलोना रियलभन्दा सात अंकले अगाडि पुगेको छ, जबकि अब केवल तीन खेल बाँकी छन् ।
खेलको सुरुवातमै रियलका केलियन एमबाप्पेले १४ मिनेटभित्र दुई गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर त्यसपछि घरेलु टोली बार्सिलोनाले पहिलो हाफमै एरिक गार्सिया, लामिन यमाल र राफिन्हाका दुई गोलसहित चार गोल गर्दै खेल उल्ट्यायो ।

दोस्रो हाफमा एमबाप्पेले आफ्नो ह्याट्रिक पूरा गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । दुबै टोलीले अन्तिम मिनेटमा केही अवसर सिर्जना गरे । तर थप गोल हुन सकेन । अन्ततः बार्सिलोनाले जित सुनिश्चित गर्यो । यता एमबाप्पले गरेका ह्याट्रिक भने खेर गएको छ ।
यस सिजन स्पनिसको फुटबलमा बार्सिलोना सबैभन्दा उत्कृष्ट टोली रहँदै आएको छ । यो टोली संगठित छ । तीव्र र नवीन शैलीमा खेल्ने गर्छ । यो सफलताका पछाडि प्रशिक्षक हान्सी फ्लिकको योजनाबद्ध तयारी रहेको छ ।
Facebook Comment
Comment