काठमाडौं । गृहमन्त्री रमेश लेखकले सङ्घीय निजामतीसम्बन्धी कानुन चाँडै निर्माण हुने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री लेखकले कानुन निर्माणमा ढिला गरेर भएपनि राम्रो काम गरिरहेको भन्दै त्यसकारण उत्साहित हुनुपर्ने धारणा राखे । उनले भने,‘सङ्घीय निजामतीसम्बन्धी कानुन धेरै ढिला गरेर भएपनि अब हामी छलफलको अन्तिम चरणमा छौं । त्यसैले म के आग्रह गर्न चाहन्छु भने स्थितिमा निराश हुनुपर्ने अवस्था छैन ।’
उनले विधेयकहरु सहमतिमा टुङ्ग्याउनु उचित हुने भन्दै सङ्घीय निजामतीसम्बन्धी विधेयक पनि सहमतिमा नै टुङगो लाग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, समिति सभापति रामहरि खतिवडाले समितिको अर्को बैठकबाट जसरी पनि निजामती विधेयक संसद्मा पेस गर्नेगरी तयारी गर्नुपर्ने बताए । उनले राज्य समितिलाई कुनै राजनीति गन्ध नआउने समितिको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने,‘समितिको अर्को बैठकबाट जसरीपनि निजामती विधेयक संसद्मा पेस गर्नेगरी तयारी गर्नुपर्छ । यो समिति राजनीति गन्ध नआउने समितिको रुपमा विकास गरौं भन्ने हामी सबैको चाहना छ । यहाँ जुन पार्टीको प्रतिनिधि गर्ने भएपनि समिति हामी सबैको हो भन्ने किसिमबाट जाऔं ।’
Facebook Comment
Comment