काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज आइतबार संघीय संसदबाट पारित हुने भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिनेछन्। त्यसपश्चात्, नीति तथा कार्यक्रममाथि प्राप्त भएका ३७ वटा संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल जारी थियो।
आजको बैठकको सम्भावित कार्यसूची अनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने तय भएको छ। राष्ट्रियसभामा पनि प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ। प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची तय भएको छ। राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ।
Facebook Comment
Comment