जनकपुर । शिक्षक आन्दोलनपछि सामुदायिक विद्यालयहरुमा नयाँ सत्रका लागि भर्ना गराउन आउने विद्यार्थीहरुको सङ्ख्यामा कमी आएको छ ।
अहिले नयाँ शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी भर्ना अभियान जारी रहेको छ । यसैक्रममा धनुषाका सामुदायिक विद्यालयहरुले पनि विद्यार्थी भर्ना अभियान जारी राखेको छ । तर, गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीहरुको सङ्ख्यामा कमी आएको जनकपुरधामस्थित ज्ञानकुप विद्यालयका प्रधानाध्यापक सञ्जय झा बताउँछन् ।
उनले अहिले कक्षा कक्षा ४ देखि ९ सम्मको विद्यार्थीहरुको भर्नाका लागि ११ सय जनाको आवेदन आएकोमा प्रवेश परीक्षामा जम्मा ९ सय जना मात्र सहभागी हुन आएको बताए । यो सङ्ख्या पहिलेको वर्षहरु भन्दा करिब ५० प्रतिशत कम भएको उनले जानकारी दिए ।
विद्यार्थीको सङ्ख्या अधिक भएका कारण गत वर्षहरुमा २ देखि ३ चरणसम्म प्रवेश परीक्षा लिनुपर्ने हुन्थ्यो तर यस वर्ष अधिकांश परीक्षा कोठाहरु खाली रहेको प्रधानाध्यापक झाले बताए ।
विद्यार्थीको सङ्ख्यामा कमी आएतापनि त्यसले शैक्षिक गुणस्तरमा कुनै कमी नआउने उनको भनाइ छ । शिक्षक आन्दोलनका कारण १८ दिनको अन्तर आएता पनि वर्षे बिदा, हिँउदे बिदा, सार्वजनिक बिदाहरुमा समायोजन गरेर विद्यार्थीहरुलाई पढाउनुपर्ने क्रेडिट आवर पुर्याइने उनले जानकारी दिए ।
देशैभरिका शिक्षकहरुले विभिन्न माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । सो आन्दोलनका कारण शैक्षिक वर्ष, भर्ना अभियान, एसइईको नतिजा र कक्षा १२ को परीक्षा प्रभावित भएको थियो । – नेपाल न्युज बैङ्क
Facebook Comment
Comment