काठमाडौं । अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाडलगायत त्यस क्षेत्रको विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुको अवलोकन तथा पद पर्यटनमा रमाउनेहरुको लागि एक उत्तम गन्तव्य हो ।
विविध परम्परागत गाउँघरहरू, गाउँले परिपेश, भिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा यस पदमार्ग विश्व चर्चित बनेको छ ।
यस पदमार्गअन्तर्गत ६ जिल्ला पर्ने गर्दछन् । जसमा बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी । मनाङको बेशिशहरबाट पदयात्रा सुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुग्न सकिन्छ ।
यस पदमार्गमा अन्नपूर्ण हिमशृङ्खला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरी, माछापुच्छ्रे, मनास्लु, गङ्गापूर्ण, हिउचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडा लगायत ६०००-८००० मिटर उचाइका अन्य धेरै चुचुराहरू आँखै अगाडि देख्न पाइन्छ ।
यस चक्रीय पदमार्ग अन्तर्गत पर्ने थोरोङ ला भञ्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको सबैभन्दा लोकप्रिय र सुन्दर भञ्ज्याङ मध्ये एक हो । यो मनाङ र मुस्ताङ जिल्लाको बीचमा अवस्थित छ ।
यस पदयात्रा दुवै तर्फबाट सुरु गर्न सकिन्छ, तर ८० प्रतिशतभन्दा बढी पदयात्रीहरू बेसीशहरबाट सुरु गर्छन् । यद्यपि, कहिलेकाहीँ डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो मौसममा भारी हिउँ परेमा थोरोङ ला भञ्ज्याङ चुनौतीपूर्ण बन्ने गर्दछ ।
विश्व चर्चित यस पदमार्गमा अहिले सडक निर्माण हुँदा पदयात्रा छोटिएको छ । पहिले बेसीशहरबाट हिँड्दा पाँचौं दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौंबाट सवारी साधनमा हिँडेकै दिन मानिसहरू मनाङ गाउँ पुगेर बास बस्छन् ।
त्यस्तै, बाग्लुङ–पोखरा सडकखण्डको नयाँपुलबाट यात्रा सुरु भएको पाँचौं दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन् ।
यसरी सडक निर्माण गरी पदमार्ग मास्नाले अन्नपूर्ण चक्रीय पदमार्गको मौलिकता मासिँदै गएको छ जसका कारण यसको विश्वव्यापी लोकप्रियता घट्ने जोखिम बढेको छ । जथाभावी सडक निर्माणको काम रोकी यस पदमार्गलाई पैदलयात्री मैत्री बाटो, सुविधा सम्पन्न बसोबास र पर्यटक सुरक्षामा जोड दिनु आवश्यक देखिन्छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी ।
Facebook Comment
Comment