काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद सीताकुमारी रानाले सरकारले बालबालिकामाथि गरेको लगानी एकदमै न्यून भएको बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासन्धि अनुमोदन गरेको ३५ वर्ष वितिसक्दा पनि थोरै स्थानीय तह बालमैत्री हुनु दुर्भाग्य भएको बताएकी हुन् ।
उनले भनिन्, ‘सन् १९९० मा नै संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासन्धि बिनासर्श अनुमोदन गरेका छौँ । ३५ वर्ष भयो अन्तर्राष्ट्रिय समुदायसामु प्रतिबद्धता गरेको तर अझै पनि महासन्धिमा भएका धेरै विषयका कार्यान्वयनको यर्थात् अवस्था सबैसामु जगजायर छ । तिनै प्रतिबद्धता कार्यन्वयन गर्न बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयनमा ल्याएको करिब १३ वर्षको अन्तरालमा छौँ, हालसम्म २६ स्थानीय तह र करिब १०० वडा मात्र बालमैत्री हुनु दुर्भाग्य छ,’ उनले भनिन्, ‘सिंगो देशलाई बालमैत्री बनाउन अन्तराष्ट्रिय समुदायसामु गरेको प्रतिबद्धता पूरा गर्न राज्यले बालवालिकामाथि गरेको लगानी अत्यन्तै न्यून छ ।’
सांसद रानाले अबको बजेटमा बालबालिकामैत्री बजेट तर्जुमा गरी बालबालिकामाथि लगानी गर्न र देशमा बाललगानी दशकको घोषणाका लागि सरकारसँग माग पनि गरेकी छन् ।
Facebook Comment
Comment