काठमाडौं । सोती घटनामा जातीय भेदभाव तथा छुवाछुत मुद्दामा उन्मुक्ति दिएको भन्दै उच्च अदालत सुर्खेतका न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ ।
घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरुले न्याय परिषद् कार्यालयमा न्यायाधीशमाथि कारबाहीको माग राख्दै उजुरी दिएका हुन् ।
रुकुम पूर्वको सोतीमा भएको उक्त घटनामा छ जनाको ज्यान गएको थियो । सो घटनामा उच्च अदालत सुर्खेतले व्यक्ति हत्यामा सजाय सुनाए पनि जातीय छुवाछुत मुद्दामा भने सफाइ दिएको थियो ।
उच्चका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले गएको १६ वैशाखमा २३ जनालाई जन्मकैद गर्ने जिल्लाको फैसलालाई सदर गरेको थियो । जातीय भेदभाव तथा छुवाछुतमा भने जिल्लाले सुनाएको दुई वर्ष कैद र ५० हजार जरिवानाको फैसलालाई उच्चले उल्ट्याएको थियो ।
मङ्गलवार सोही फैसला गर्ने दुई न्यायाधीशविरुद्ध घटनाका मृतक नवराज विकका बुवा मुनलाल नेपाली, गोविन्द शाहीकी आमा भिमीकुमारी बुढाथोकी शाही र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले बिहीबार न्याय परिषद्मा पुगेर उच्च अदालत सुर्खेतका न्यायाधीशहरू शोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरुद्ध उजुरी दिएका हुन् ।
न्याय परिषद् स्रोतका अनुसार उजुरी दर्ता भएर प्रक्रियामा अघि बढेको छ । २०७७ जेठ १० मा नवराज विकसहित ६ जनाको हत्या भएको थियो। घटनामा संलग्नहरूलाई जन्मकैदको सजाय कायम राखिए पनि विभेदसम्बन्धी मुद्दा खारेज भएकोमा पीडित आक्रोशित छन् ।
Facebook Comment
Comment