उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत बासको शिष्टाचार भेट

नेपालभ्युज

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत बासको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालयमा मङ्गलबार  भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत विभिन्न विषयमा महत्वपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजरायलबीच मित्रता, सद्भाव, समझदारी तथा सहयोगपूर्ण सम्बन्ध कायम रहिआएको बताए । उनले दुई मुलुकबीच विभिन्न सम्झौताहरू भएका र केही प्रक्रियामा रहेका जानकारीमा आएको उल्लेख गर्दैै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । “नेपाल र इजरायलबीच आर्थिक, व्यापारिक, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य गर्ने प्रमुख सम्भावना छ”, उपराष्ट्रपति यादवले भने, “यी क्षेत्रहरूमा अवसरको खोजी गरी दुवै मुलुकले लाभ लिन सक्छन् ।”

उनले इजरायलमा उल्लेख्य सङ्ख्यामा महिला कामदारसहित चार हजार ५०० नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरूको तलब, बिमा, बिदालगायत सुविधा सुनिश्चित गराउने सन्दर्भमा इजरायल सरकारको सकारात्मक पहल अपेक्षित रहेको बताए । उपराष्ट्रपति यादवले नेपाल र इजरायलले संयुक्त राष्ट्र सङ्घलगायत अन्तरराष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा आपसी सहयोग र सहकार्य गर्दै आएकामा यसको निरन्तरतामा आफू विश्वस्त रहेको बताए ।

नेपालका लागि इजरायलका राजदूत बासले दुई मुलुकबीच सहयोग र सहकार्य निरन्तर जारी रहने उल्लेख गर्दै इजरायलमा रहेका नेपाली कामदाहरूसँग भएको सम्झौताबमोजिम सुविधा पाए÷नपाएकाबारे विभिन्न सङ्घ÷संस्थाहरूले अनुगमन गर्ने गरेको बताए । “दुई मुलुकबीच केही सम्झौताहरू भइसकेका र केही प्रक्रियामा रहेकाले ती सम्झौताले पनि पूर्णतथा पाउने विश्वास गर्दछु”, उनले भने, ‘इजरायलबाट विभिन्न किसिमका प्रशिक्षण लिएर आएकाहरू नेपालमा सफल भइरहेको जानकारी पाउँदा खुसी लागेको छ ।’ रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved