काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकार्षण गराएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा आकस्मिक र शून्य समयमा सदस्यहरुले उक्त बिषयमा धारणा राखेपछि अध्यक्ष दाहालले छात्रा प्रिशा साहको छात्रावासको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दु:खद् पक्ष भएको भन्दै अध्यक्ष दाहालले नेपाल र भारत दुवै देशले कूटनीतिक माध्यममार्फत् यस्ता घटना दोहोरिरहनु पर्ने कारणको गहिराइमा गएर खोजी गर्नुपर्ने जिकिर गरे ।
आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
अध्यक्ष दाहालले उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे ।
Facebook Comment
Comment