काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारमा दलाल पुँजीवादी पार्टीहरु रहेकाले जनताको हितमा नीति तथा कार्यक्रम नबनेको आरोप लगाएका छन् ।
नेपाल आदिवासी जनजाती महासङ्घ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको समस्या समाधान नगर्ने बताएका हुन् ।
‘अहिले दुई वटा पार्टीको सरकार छ एउटा पार्टी दलाल पुँजीवादी पार्टी हो । त्यो पार्टीले जनताको समस्या समाधान गर्ला भनेर आम जनताले सोचेकै छैन । किनभने त्यो समस्या समाधान गर्ने उनीहरुसँग नीति पनि छैन, कार्यक्रम पनि छैन । हिजो पनि छैन, आज पनि छैन । अहिले बजेट आयो त्यहाँ पनि छैन,’ उनले भने ।
नेता खनालले सरकारमा भएको पार्टीले ल्याएको नीति कार्यक्रमबाट आफूहरु फरक बाटो हिँड्नुपर्नेमा स्पष्ट भएको पनि बताए ।
उनले भने,‘यो पार्टीले शोषण अन्यायमा परेका जनताहरुको समस्याहरु समाधान गर्न सक्दैन भन्ने कुरा हिजोको नीति तथा कार्यक्रमले प्रष्ट भयो । त्यसो हुनाले हामी फरक बाटो हिँड्नुपर्छ भन्ने कुरामा हामी प्रस्ट भएका छौँ । पुँजीवादी संघीय गणतन्त्रले जनताका आधारभूत आवश्यकता पुरा गर्न सक्दैन । पुँजीवादी आफै शोषणको व्यवस्था हो ।’
उनले अहिलेको व्यवस्थासँग लडाइँ गर्दै आफ्ना मागहरु पूरा गर्ने तर समस्या हल गर्छ भनेर आशा नगर्ने बताए । – नेपाल न्यूज बैङ्क
Facebook Comment
Comment