काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले काठमाडौंमा राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । नेपालको तीन दिने भ्रमणमा बुधबार काठमाडौं आइपुगेका चौथाइवालेले २४ घण्टामा शीर्षसहित करिब एक दर्जन नेताहरूसँग भेटघाट गरिसकेका छन् ।
चौथाइवालेले तीन दिनको काठमाडौं बसाईमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरु, मधेशी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।
काठमाडौं झर्ने बित्तिकै गृहमन्त्री रमेश लेखकसँग भेट गरेका उनले त्यसको केही समयपछि नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । देउवासँगको भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत सँगै थिइन् ।
बिहीवार पनि उनले सत्तारुढ दल नेपाली कांग्रेस र विपक्षी दल माओवादी केन्द्रका नेताहरूसँग समेत भेट गरेका छन् । काँग्रेस नेता शेखर कोइराला, काँग्रेस महामन्त्री गगन थापा, काँग्रेसका प्रवक्ता प्रकाश शरण महत र केन्द्री उदय शमशेर राणासँग भेट गरेका छन् ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव जनार्दन शर्मासँग पनि चौथाइवालेले भेट गरेका छन् । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग चौथाइवालेको भेट भइसकेको छ ।
शुक्रवारसम्म उनले थप भेटघाटको कार्यक्रम रहेको छ । राजनीतिक दलसँग सम्बन्ध नवीकरण र थप सौहार्द बनाउने उद्देश्यले उनी नेपाल आइपुगेको जनाइएको छ । बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रवार फर्किने कार्यक्रम रहेको छ।
उनको सामाजिक सञ्जालबाट लिइएका तस्वीरहरू:









Facebook Comment
Comment