यस्ता छन् आन्दोलनरत शिक्षकहरू र सरकारबीच भएका ९ बुँदे सहमतिहरू

नेपालभ्युज

यस्ता छन् आन्दोलनरत शिक्षकहरू र  सरकारबीच भएका ९ बुँदे सहमतिहरू

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच सहमति भएको छ । बुधबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको वार्तामा सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको हो ।

वार्तामा भएको सहमतिलाई लिएर गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तले मन्त्रिपरिषद् बैठकबाट पारित गरेर फर्किएपछि पत्रकार सम्मेलन गरी सहमति सार्वजनिक गरेका हुन् ।

सहमति भएसँगै शिक्षकहरूले आन्दोलन फिर्ता लिएर बिहीवारदेखि शैक्षिक गतिविधि सुचारु गर्ने भएका छन्।

यस्ता छन् ९ बुँदे सहमतिहरू:

१. शिक्षकहरूको स्वास्थ्य उपचारको सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई उपचार सहुलियत र सुविधाको व्यवस्था गर्ने ।

२. अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी/करार, साबिक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बाल विकास सहजकर्ता बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने ।

३. प्रारम्भिक बाल विकास सहजकर्ता (बाल विकास शिक्षक) र विद्यालय कर्मचारीको लागि नेपाल सकारबाट तोकिए व्यवस्था गर्ने ।

४. आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय तहका , प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको र माध्यमिक प्रथम श्रेणीका लागी निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकहरूले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता उपलब्ध पाउने व्यवस्था गर्ने।

६. सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७. नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने ।

८. नेपाल शिक्षक महासङ्घको आन्दोलनको क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने गरी कायम गर्ने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved