काठमाडौं । देशभरबाट काठमाडौं आएर आन्दोलन गरिरहेका शिक्षकहरूले वार्ता र आन्दोलन सँगसँगैको रणनीति लिएका छन् ।
शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी शिक्षक महासङ्घको नेतृत्वमा २० चैतमा सुरु भएको आन्दोलन बुधबारसम्म जारी छ ।
शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता र आन्दोलन सँगसँगै रहने बताएका छन् । उनले बुधबार पनि यसअघिकै जस्तो आन्दोलन जारी रहने बताएका छन् । उनले सरकारसँग वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने बताएका छन् ।
२९ दिनको आन्दोलन जारी रहँदा शिक्षक आन्दोलनले निर्णायक मोड लिएको छ । मङ्गलबार सरकारसँग भएको वार्तामा शिक्षक महासंघले आफ्नो नौ बुँदे प्रस्ताव पेस गरेको छ ।
मङ्गलबार रातिसम्म भएको वार्ता सकारात्मक रहेको दुवैपक्षको भनाइ छ । शिक्षक महासङ्घले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने, राहत शिक्षकका सरोकारलगायत विषयमा प्रस्ताव पेस गरेको छ ।
शिक्षक महासङ्घले पेस गरेको यो प्रस्तावमा सरकारले धारणा सार्वजनिक भने गरिसकेको छैन । अब सरकारसँगको वार्ता निर्णायक मोडमा पुगेको महासङ्घको भनाइ छ । बुधबार पनि हुने वार्ताले केही टुङ्गो लगाउने सम्भावना छ ।
Facebook Comment
Comment