तुलसीलाल स्मृति प्रतिष्ठानबाट एमालेको पार्टी कार्यालय हटाउन प्रभु साहको माग

नेपालभ्युज

तुलसीलाल स्मृति प्रतिष्ठानबाट एमालेको पार्टी कार्यालय हटाउन प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली मठमन्दिरमा बसेर मासु र रक्सीको बेचिरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीले प्रतिष्ठान कब्जा गरेर पार्टी कार्यालय चलाउनु गलत भएको बताए ।

‘सम्मानिय सभामुख महोदय, नेपालमा सम्मानिय प्रधानमन्त्रीज्यु मठमन्दिरमा बसेर मासु र रक्सीको व्यापार गरिरहेको अभाष भइरहेको छ । सामाजिक कार्यका लागि निर्मित प्रतिष्ठानमा उहाँ (ओली)को पार्टी कार्यालय छ । म सोध्न चाहन्छु – तुलसीलाल अमात्य प्रतिष्ठान सामाजिक संस्था हो की व्यापारीक संस्था हो,’ साहले भने, ‘यदी सामाजिक संस्था हो भने जुसको लाईसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन ?’

प्रतिष्ठानहरु नेताको लुट्ने भाँडो भएको बताउँदै उनले सरकारी बजेट ल्याउने र ती संस्थाका आम्दानीहरु नेताको निजी स्वार्थमा प्रयोग गर्ने काम गलत भएको बताए । ‘आज संघसंस्थाहरु लुटको अखडा बनेको छ । नेपाली जनताको खुनपसिनाको लाखौं करोडौं रकम यसरी दुरुपयोग भइराख्दा त्यसलाई नियमन गर्नुपर्ने होईन र ? नियमन गर्नुपर्ने जिम्मेवारीमा रहेका हाम्रा प्रधानमन्त्रीज्यु, त्यसमा आफैँ मतियार बनेपछि अब न्याय माग्न कहा जाने ?,’ साहले प्रश्न गरे ।

प्रतिष्ठान र संघसंस्थाहरु पथभ्रष्ट हुँदा त्यसलाई नियमन गर्नुपर्ने उनले बताए । तर, सुशासनको जिम्मेवारी लिएका प्रधानमन्त्रीबाटै कानुन उल्लङ्घन हुँदा विधिको शासन कहाँ खोज्ने भन्दै उनले प्रश्न उठाए ।

‘प्रतिष्ठानहरुको एउटा आफ्नै चरित्र हुन्छ । तुलसीलाल अमात्य भनेको एउटा सम्मानित व्यक्तित्व हो, हाम्रो गौरब हो । उहाँ (तुलसीलाल)को सम्मानलाई हामीले कमजोर वा नजरअन्दान गर्न मिल्दैन । उहाँ (तुलसीलाल) को मान–प्रतिष्ठामा आच हुने गरी जो काम भइरहेको छ, त्यो हामीलाई स्वीकार्य छैन्,’ साहले भने, ‘यदि त्यो व्यापारीक संस्था नै हो भने बढाबढ गर्न सक्नुपथ्र्यो । हाम्रो आम जनता पार्टीले पनि घरभाडामा खोजिरहेको छ । म एमालेभन्दा बढी भाडा दिन तयार छु, हामीलाई दिनुपर्‍यो । हैन भने सामाजिक संस्था हो भने त्यसको लेहाज गर्नुपर्‍यो । त्यो लेहाजलाई छोड्ने होइन ।’

एमाले भनेको अर्बपति कल्बमा पुगेको सबैभन्दा धनी पार्टी भएको बताउदै उनले १० वर्ष अघि भूकम्पबाट क्षति हुँदा अहिलेसम्ममा पनि आफ्नो पार्टी कार्यालय निर्माण गर्न नसक्नु प्रधानमन्त्री ओलीकै कमजोरी भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved