प्रहरी दमनपछि शिक्षक महासङ्घ आक्रामक, आन्दोलन थप सशक्त बनाउने घोषणा

नेपालभ्युज

प्रहरी दमनपछि शिक्षक महासङ्घ आक्रामक, आन्दोलन थप सशक्त बनाउने घोषणा

काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलनमा प्रहरीले दमन गरेपछि नेपाल शिक्षक महासङ्घ थप आक्रामक बनेको छ। महासङ्घले आइतबार बसेको आकस्मिक बैठकमा आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको हो।

बैठकले आन्दोलनका क्रममा प्रहरीले गरेको हस्तक्षेप र दमनको कडा शब्दमा निन्दा गरेको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले प्रहरीले नियोजित रूपमा शिक्षकहरूमाथि लाठी प्रहार गरेको आरोप लगाए। उनले भने, ‘पानीको फोहोरापछि शिक्षकहरू किनारामा लागिसकेका थिए। तर, प्रहरीले सडक पेटीमा उभिएका शिक्षकहरूलाई अन्धाधुन्ध लाठी चार्ज गर्‍यो। यो प्रहरीको ज्यादती हो।’

महासङ्घले आन्दोलनलाई देशव्यापी बनाउन शिक्षक तथा कर्मचारीहरूलाई काठमाडौं आउन आह्वान गरेको छ। विद्यालय खोल्न निर्देशन दिइरहेका स्थानीय पालिकाहरूलाई विद्यालयको साँचो बुझाएर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन महासङ्घले आग्रह गरेको छ। विशेषगरी प्रधानाध्यापकहरूलाई विद्यालयको साँचो पालिकालाई बुझाएर आन्दोलनमा जुट्न अनुरोध गरिएको छ।

यसका साथै, शिक्षक महासङ्घले यसअघि सरकारसमक्ष पेश गरेको ९ बुँदे मागहरू मन्त्रिपरिषद्बाट तत्काल पारित गराउन थप दबाब दिने निर्णय गरेको छ। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित शिक्षक महासंघ गत चैत २० गतेदेखि आन्दोलनमा उत्रिएको छ। आन्दोलनको २६औं दिन आज काठमाडौंमा प्रहरी र शिक्षकहरूबीच झडप भएको थियो, जसमा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन्। प्रहरी दमनपछि शिक्षक महासङ्घले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय लिएसँगै आगामी दिनमा आन्दोलनले कस्तो रूप लिने हो भन्ने चासो बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved