काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले राष्ट्रिय टोलीका ६ जना क्रिकेट खेलाडीलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यस्तो घोषणा गरेको हो ।
नयाँ ब्राण्ड एम्बेसडरहरूमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी छन् ।
खेलाडीहरूले वर्ल्डलिङ्कको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएको कम्पनीले जनाएको छ ।
सम्झौतामा वर्ल्डलिङ्कको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका छन् ।
नेपालमा पहिलोपटक एउटै कम्पनीले एकैसाथ ६ जना ब्राण्ड एम्बेसडर अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिङ्कले गरेको हो, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने कम्पनीले जनाएको छ ।
समारोहमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक अग्रवालले किक्रेटरलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, “यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन् — जुन गुणहरू वर्ल्डलिङ्कको दृष्टिकोण र मूल्यसँग पूर्णरूपमा मेल खान्छ । उनीहरूले लाखौं नेपालीहरूको सपना र आकाङ्क्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं ।”
यस सहकार्यले ब्राण्डलाई थप ऊर्जावान् बनाउने र देशका विभिन्न भागमा रहेका समुदायहरूसँग सम्बन्ध अझ गाढा बनाउने उनको भनाइ छ ।
यस्तै, मुख्य कार्यकारी अधिकृत नेपालले वर्ल्डलिङ्कले खेलकुदलाई समर्थन गर्दै आएको बताए । उनले भने, “नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ । वर्ल्डलिङ्क सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको छ । गत वर्ष हामीले ‘बीट द स्पीड’ अभियान सुरु गर्यौं, जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्यो र हामी गर्वका साथ घोषणा गर्छौं कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ ।”
यो सहकार्य केवल ब्राण्ड प्रवर्द्धन नभएर जनताको भावना र गौरवसँग जोडिएको उनी बताउँछन् ।
सन् १९९५ मा स्थापना भएको वर्ल्डलिङ्क नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो । देशभर १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्याउँदै आएको यस कम्पनीले उच्च गतिको ब्राण्डब्यान्ड र व्यावसायिक सेवा ७७ वटै जिल्लामा प्रदान गर्दै आएको छ ।
Facebook Comment
Comment