काठमाडौं । आईपीएल (IPL) क्रिकेटको १८औं संस्करणमा शुक्रबार चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार साँझ १९ः४५ बजेदेखि सुरु हुनेछ ।
जारी सिजनमा दुवै टोलीको प्रदर्शन निराशाजनक छ । यी दुवै टोली आफ्नो पछिल्ला खेलमा पनि पराजित भएका थिए ।
चेन्नई र हैदराबाद दुवैको प्लेअफ चरणमा पुग्ने सम्भावना पनि प्राविधिक रुपमा मात्र बाँकी छ । त्यसैले शुक्रबारको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीको प्लेअफ चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ ।
हैदराबाद र चेन्नईले जारी सिजनमा आठ–आठ खेल खेलिसकेका छन् । आठमध्ये केवल दुई खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको चेन्नई चार अङ्कसहित तालिकाको अन्तिम स्थानमा छ ।
हैदराबादले पनि अघिल्ला आठमध्ये दुई खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद पनि चार अङ्कसहित तालिकाको नवौं स्थानमा छ ।
हेड टू हेडमा चेन्नई अगाडि
चेन्नई र हैदराबादबीच हालसम्म आईपीएलमा २२ खेल भएको छ । त्यसमा चेन्नई बलियो देखिन्छ । चेन्नईले १६ खेलमा हैदराबादलाई हराएको छ भने हैदराबादले ६ खेलमा मात्र जितेको छ ।
जारी सिजनमा चेन्नईका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका छैनन् । आठ खेल खेलिसकेको चेन्नईका लागि कुनै पनि ब्याट्सम्यानले कुल दुई सय ५० रनसम्म बनाउन सकेका छैनन् ।
चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिवम दुबे हुन् । उनले आठ खेलमा कुल दुई सय ३० रन बनाएका छन् । यो सूचीमा दोस्रो स्थानमा रहेका रचिन रवीन्द्रले आठ खेलमा कुल एक सय ९१ रन बनाएका छन् ।
सर्वाधिक विकेट लिने बलर स्पिनर नुर अहमद हुन् । उनले आठ खेलमा १२ विकेट लिइसकेका छन् । यो सूचीमा दोस्रो स्थानमा रहेका खलिल अहमदले ११ विकेट हात पारेका छन् ।
हैदराबादका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हेनरिक क्लासन हुन् । उनले हालसम्म आठ खेलमा कुल दुई सय ८१ रन बनाएका छन् । टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा ट्राभिस हेड छन् ।
हेडले हालसम्म आठ खेलमा कुल दुई सय ४२ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर हर्षल पटेल हुन् । उनले सात खेलमा ९ विकेट लिएका छन् ।
पिच रिपोर्ट
हैदराबाद र चेन्नईबीच शुक्रबारको खेल हुने एमए चिदम्बरम स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा रन बनाउन ब्याट्सम्यानले निकै सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८९ खेल खेलिएको छ । त्यसमध्ये ५१ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ३८ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।
यो स्टेडियममा बनेको उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । यो स्कोर चेन्नईले सन् २०१० मा राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।
सम्भावित-१२
चेन्नई : महेन्द्रसिंह धोनी (कप्तान), शेख रशीद, रचिन रवीन्द्र, आयुष म्हात्रे, विजय शङ्कर, रवीन्द्र जडेजा, जामी ओभर्टन, खलिल अहमद, नुर अहमद, मथिशा पाथिराना, शिवम दुबे र रवीचन्द्रन आश्विन ।
हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासन (विकेटकिपर), अनिकेत बर्मा, हर्षल पटेल, जयदेव उनादकट, जिशन अन्सारी, एसान मालिंगा र मोहम्मद शामी ।
Facebook Comment
Comment