तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना, सावधानी अपनाउन अनुरोध

नेपालभ्युज

तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना, सावधानी अपनाउन अनुरोध
सांकेतिक तस्वीर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति तातो हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।

विभागले भनेको छ, ‘आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी दुई दिन तातो लहरकोसमेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

जारी विशेष बुलेटिनमा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको उल्लेख छ ।

साथै मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाइएको छ ।

सम्भावित असर

विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध गरेको छ ।

सावधानीका उपाय

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हल्का लुगा लगाउन, सकभर सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न र टोपी लगाउन अनुरोध गरिएको छ ।

साथै नियमित र पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्तमात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।

यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने भएकाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved