झारखण्डमा सुरक्षाकर्मीको कारबाहीबाट आठ माओवादी विद्रोही मारिए

ठूलो परिमाणमा हतियार बरामद

नेपालभ्युज

झारखण्डमा सुरक्षाकर्मीको कारबाहीबाट आठ माओवादी विद्रोही मारिए
फाइल तस्वीर

काठमाडौं । भारतको झारखण्डस्थित बोकारो जिल्लामा सुरक्षाकर्मीको कारबाहीमा आठ संदिग्ध नक्सलवादी (माओवादी विद्रोही) मारिएका छन् । प्रहरी र सीआरपीएफको संयुक्त कारबाहीमा उनीहरू मारिएका हुन् ।

यही अप्रिल २० मा सीआरपीएफको कोब्रा २०९ युनिट र राज्य प्रहरी बलको झारखण्ड जगुआर टोली माओवादीहरूको उपस्थितिको सूचनाको आधारमा अपरेसनका लागि निस्किएका थिए ।

झारखण्ड प्रहरी र सीआरपीएफलाई नक्सलवादीहरूको एउटा समूहले लुगु पहाडी क्षेत्रमा ठूलो आक्रमण गर्ने योजना बनाइरहेको गुप्तचर सूचना प्राप्त भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । यसपछि एक विशेष टोली गठन गरेर यस क्षेत्रमा खोजी अभियान सुरु गरिएको छ ।

माओवादीहरूको आक्रमणको सूचना पाएर सोमबार बिहान हाम्रो संयुक्त टोली बोकारोको जङ्गलमा पुग्दा उनीहरूले प्रहरीमाथि हमला गरे,’ झारखण्ड प्रहरीका महानिरीक्षक अमोल विनुकान्त होमकरले भने, ‘जवाफी कारबाहीमा हालसम्म आठ माओवादी मारिएका छन् । जङ्गलका धेरै ठाउँमा माओवादी र प्रहरीबीच अझै पनि गोलीबारी भइरहेको छ ।’

सोमबार बिहान ५ः३० बजे बोकारोको जागेश्वर विहार प्रहरी चौकी क्षेत्रअन्तर्गत लालपानियाको लुगु पहाडमा मुठभेड भएको थियो।

प्रहरी अधिकारीहरूका अनुसार मारिएका माओवादीहरूबाट एके ४७, इन्सास राइफलहरूसहित ठूलो परिमाणमा हतियारहरू बरामद गरिएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसीलाई बताएअनुसार सुरक्षा बलले सीपीई (माओवादी) सङ्गठनको कोर कमिटीका सदस्य प्रयाग माझी उर्फ विवेकलाई फेला पारेको छ, जसको टाउको मूल्य १ करोड भारतीय रुपैयाँ घोषणा गरिएको छ । उनी बोकारोको जङ्गलमा रहेको खबर आएको थियो ।

‘यस जानकारीका आधारमा हिजो संयुक्त अपरेसन गरिएको थियो । मारिएका माओवादीहरूमा १ करोड भारु इनाम भएका माओवादी विवेक, विशेष क्षेत्र समिति (एसएसी) सदस्य साहेबराम माझी र १० लाख रुपैयाँ इनाम भएका माओवादी अरविन्द यादव समावेश छन्,’ प्रहरी अधिकारीले बीबीसीलाई भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved