काठमाडौं । श्रेयस अय्यर र इशान किशन बीसीसीआईको केन्द्रीय सम्झौतामा फर्किएका छन् । गतवर्ष दुवैलाई बीसीसीआईको केन्द्रीय सम्झौताबाट हटाइएको थियो ।
एकदिवसीय र टेस्ट टोलीका कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजा ए प्लस ग्रेडमा रहेका छन् । गत वर्ष भएको टी-२० विश्वकपपछि तीनै जनाले टी-२० फर्म्याटबाट सन्यास लिएका छन् । साथै, जसप्रीत बुमराह पनि ए प्लसमा ग्रेडमा छन् ।
गत वर्ष श्रेयस र इशानलाई केन्द्रीय सम्झौताबाट बाहिर राख्नुको सबैभन्दा ठूलो कारण घरेलु क्रिकेट नखेल्नु थियो । बोर्डले कुनै खेलाडी राष्ट्रिय टोलीमा समावेश नभएको खण्डमा घरेलु क्रिकेट खेल्नुपर्ने आदेश दिएको थियो । बोर्डको आदेशको बावजुद पनि श्रेयस र इशानले त्यतिबेला बाँकी रणजी ट्रफी खेलेनन् ।
पछि श्रेयस घरेलु क्रिकेटमा फर्किए र पछिल्लो रणजी ट्रफीमा मुम्बईका लागि पाँच खेलमा ४८० रन बनाएका थिए । श्रेयस सैयद मुश्ताक अली ट्रफीमा नौ खेलमा ३४५ रन बनाएर चौथो सर्वाधिक रन बनाउने खेलाडी थिए ।
बोर्डको सूचीमा ३४ खेलाडी समावेश
बोर्डको केन्द्रीय सम्झौता भएका खेलाडीहरूमा ३४ खेलाडीहरू समावेश गरिएका छन् । गत वर्ष ३० जना खेलाडीलाई केन्द्रीय सम्झौता दिइएको थियो । जबकि ग्रेड ए+ मा गत वर्ष जस्तै चार जना खेलाडी मात्र छन् । ग्रेड ए मा ६ खेलाडी समावेश छन् । गत पटक पनि यस श्रेणीमा ६ खेलाडी थिए । जबकि बीमा अघिल्लो पटक जस्तै, पाँच खेलाडी छन् भने सी मा १९ खेलाडी छन् । पछिल्लो पटक १५ खेलाडीहरू समावेश गरिएको थियो ।
अभिषेक शर्मा, नितिश रेड्डी, हर्षित राणा र वरुण चक्रवर्ती पहिलो पटक केन्द्रीय सम्झौतामा सामेल भएका हुन् । चारै जनालाई श्रेणी सीमा समावेश गरिएको छ ।
शार्दुल-अश्विनसहित ५ खेलाडी बाहिरिए
यस सूचीबाट अघिल्लो केन्द्रीय सम्झौतामा समावेश ५ खेलाडीहरू बाहिरिएका छन् । जसमा शार्दुल ठाकुर, रविचन्द्रन अश्विन, जितेश शर्मा, केएस भरत र आवेश खान रहेका छन् । अश्विनले अष्ट्रेलिया भ्रमणको बोर्डर गावस्कर ट्रफीको क्रममा सन्यास लिने निर्णय गरेका थिए ।
केन्द्रीय सम्झौताअन्तर्गत ‘ए प्लस’ ग्रेडका खेलाडीहरूले वार्षिक ७ करोड, ‘ए’ले ५ करोड, ‘बी’ले ३ करोड र ‘सी’ ग्रेडका खेलाडीहरूले १ करोड भारु पाउँछन् ।
बीसीसीआईले केन्द्रीय सम्झौतामा समावेश गरिएका खेलाडीहरूको पूर्ण ख्याल राख्छ । उदाहरणका लागि कुनै पनि खेलाडीले बैङ्गलुरुस्थित बीसीसीआईको सेन्ट्रल सेन्टर अफ एक्सिलेन्स (सीओई)मा नि:शुल्क आफ्नो रिकभरी गर्न सक्छ । यहाँ खेलाडीहरूले विश्वस्तरीय प्रशिक्षण सुविधा मात्र पाउँदैनन्, यात्रा भत्ता पनि पाउँछन् ।
Facebook Comment
Comment