काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले व्यवस्थाको विरोध गर्दै राजतन्त्रको पक्षमा आज (आइतबार) बिजुलीबजारमा प्रदर्शन गरिरहँदा झण्डा व्यापारीको पनि व्यस्तता बढेको छ ।
आन्दोलनमा सहभागी हुन आएकाहरूले राष्ट्रिय झण्डा प्रयोग गर्ने भएकाले बिक्रीका लागि व्यापारीहरू सडकमा बसेका छन् ।
झण्डा बेच्न सडकमा आएकी जुम्लाकी रमा राउतले रु २००, ३०० र ५०० मूल्यमा राष्ट्रिय झन्डा बिक्री भइरहेको बताइन् । तीनकुनेको हिङ्सात्मक आन्दोलनपछि राजावादी आन्दोलनमा भीड कम रहेको पाइएको व्यापारीहरूको भनाइ छ ।

‘अस्ति चैत १५ गते तीकुनेमा पनि झण्डा बेचेकी थिएँ । त्यहाँ राम्रो बिक्री भएको थियो । आज अलि त्यस्तो भीड छैन,’ राउतले भनिन् ।
तीनकुनेमा भएको राजावादीको आन्दोलनमा झण्डा बिक्रीबाट राम्रो कमाइ गरेका जुम्लाका कृष्णबहादुर बुढा आजको राप्रपाको आन्दोलनमा झण्डा बेचिरहेका छन् ।
अन्य समय जडिबुटी व्यापार गर्ने जुम्लाका बुढा आन्दोलनको समयमा झण्डा व्यापार गर्ने गरेको बताउँछन् ।
जङ्गली लसुनको तेल, टिम्बुर, जेठ्ठी मधु लगायतका जडिबुटी लिएर बेच्ने बुढा आन्दोलनमा झण्डा बोकेर हिड्ने गर्छन् ।

तीनकुनेमा आन्दोलनको बेला बुढाले २० हजार रुपैयाँको झण्डा बेचेका थिए । त्यसपछि राप्रपाको बल्खुमा भएको प्रदर्शनमा पनि उनी पुगेका थिए ।
‘तीनकुनेमा अलि धेरै बिकेको थियो, बल्खुमा त भएन,’ बुढाले भने ’आज पनि धेरै बिक्छ जस्तो लागेको छैन ।’
Facebook Comment
Comment