हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धकको नयाँ भिडिओ, जीवित रहेको दाबी

नेपालभ्युज

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धकको नयाँ भिडिओ, जीवित रहेको दाबी

एजेन्सी । हमासको सशस्त्र शाखा इज्जेदिन अल–कसम ब्रिगेडले शनिबार इजरायली बन्धक एल्काना बोहबोटलाई जीवित देखाउने नयाँ भिडियो सार्वजनिक गरेको छ। भिडियोमा बोहबोट हिब्रू भाषामा टेलिफोनमा कुरा गरिरहेको देखिन्छ।

इजरायली मिडियाका अनुसार, बोहबोटलाई सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलको एक सङ्गीत महोत्सवबाट हमासले अपहरण गरेको थियो। यस आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो।

चार मिनेटभन्दा लामो भिडियो क्लिपमा बोहबोट सानो कोठामा बसेर साथी र परिवारका सदस्यहरूसँग कुरा गरिरहेको देखिन्छ। उनले ल्यान्डलाइन टेलिफोनमा कुरा गर्दै एक साथीलाई आफ्नी श्रीमतीलाई ह्वाइट हाउसमा लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न आग्रह गरेको सुनिन्छ।

यद्यपि, यो कल वास्तवमै भएको हो कि होइन भन्ने स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन, र एएफपीले भिडियो कहिले खिचिएको थियो भनेर पनि प्रमाणित गर्न सकेको छैन।

हालैका हप्ताहरूमा बोहबोटको यो तेस्रो यस्तो भिडियो सार्वजनिक भएको हो। यसअघि मार्चको अन्त्यमा जारी गरिएको भिडियोमा उनले इजरायली सरकारलाई आफ्नो रिहाई सुनिश्चित गर्न आग्रह गरेका थिए।

इजरायली सेनाका अनुसार, सन् २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका दुई सय ५१ जनामध्ये अझै ५८ जना गाजामा बन्दी छन्, जसमध्ये ३४ जनाको मृत्यु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved