काठमाडौं । जारी प्रि-मनसुनमा विभिन्न विपद् घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् ।
फागुनदेखि अहिलेसम्म विपद्मा परेर २७५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अहिले प्रि-मनसुन चलिरहेको छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अङ्ग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई प्रि-मनसुन भनिन्छ ।
प्राधिकरणले सर्वसाधारण, तीनै तहका सरकार र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
प्राधिकरणले आज सार्वजनिक गरेको सूचनामा फागुनदेखि हालसम्मको अवधिमा लगातार देखिएको मौसमी गतिविधिका कारण देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी, चट्याङ, मेघगर्जन र पहिरोका घटनाहरू बढ्दै गएको उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी दिनहरूमा पनि यस्ता मौसमी घटनाहरू दोहोरिन सक्ने भएकाले सतर्कता अत्यावश्यक भएको बताइएको छ ।
प्राधिकरणले विपद् व्यवस्थापन कार्यका लागि संघीय, प्रदेश र स्थानीय तहका सबै सरकारी तथा निजी निकायहरूलाई आवश्यक समन्वयमा जुट्न निर्देशन दिएको छ । विशेषगरी स्थानीय तहहरूमा विपद् न्यूनीकरण तथा व्यवस्थापनमा संलग्न संघसंस्थाहरू र विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

Facebook Comment
Comment