सरकारको पक्षमा बोल्न महामन्त्रीलाई देउवाको निर्देशन

नेपालभ्युज

सरकारको पक्षमा बोल्न महामन्त्रीलाई देउवाको निर्देशन

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको पक्षमा बोल्न महामन्त्रीद्वयलाई निर्देशन दिएका छन् ।

बुढानीलकण्ठस्थित निवासमा आयोजित बैठकमा सरकारको विरोधमा प्रखर रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकारको पक्षमा बोल्न देउवाले निर्देशन दिएका हुन् ।

बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले महामन्त्रीहरूले सरकारको विरोध गर्दा कसको पक्षमा बोल्ने भन्ने द्विविधाप्रकट भएको भन्दै प्रश्न गरेका थिए । ‘महामन्त्रीहरूले सरकारको विरोध गरिरहनुभएको छ । कसको पक्षमा बोल्ने भन्ने द्विविधा भयो,’ उनले भनेका थिए ।

उनले यो प्रश्न राख्नेबित्तिकै देउवाले सरकारको पक्षमा बोल्न महामन्त्रीहरूलाई निर्देशन दिएको घिमिरेले जानकारी दिए । ‘अहिले दायाँबायाँ केही पनि छैन । सरकारको पक्षमा बोल्ने हो नि । असन्तुष्टि पार्टीभित्र र संयन्त्रमा राखौँ बाहिर सरकारको पक्षमा बोल्ने हो,’ देउवाको भनाइ उद्दृत गर्दे घिमिरेले भने।

पछिल्लो समयमा महामन्त्रीद्वय थापा र शर्मा सरकारको विरोधमा प्रखर छन् । उनीहरूले गरिरहेको विरोधबारे प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बुधबार बसेको संयन्त्रको बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारकोविरूद्धमा संयन्त्रमै रहेका व्यक्तिको विरोध उचित नभएको भन्दै सचेत गराउन देउवालाई आग्रह गरेका थिए ।  बुधबारको संयन्त्रको  बैठकमा व्यक्तिगत आलोचनालाई रोक्न नसकिने र उक्त आलोचना पार्टीगत नभएको जवाफ दिएका थिए । पार्टीको बिहीबारको बैठकमा भने महामन्त्रीद्वयलाई देउवाले सचेत गराएका छन् ।

महामन्त्रीद्वय थापा र शर्मा सरकारको विरोधमा प्रखर छन् । थापाले बुधबार मात्रै सरकारको काम प्रशंसा र प्रचारयोग्य हुननसकेको टिप्पणी गरेका थिए । यस्तै, शर्माले सरकारको आलोचना गर्नुपर्ने ७ बुँदे कारण सार्वजनिक गरेका थिए । दुवै महामन्त्रीले आफूहरू सत्ता बदल्ने नभएर सरकारको कार्यशैली बदल्ने अभियान रहेको बताइरहेका छन् ।

बैठकमा देउवाले गठबन्धनमा कुनै पनि समस्या नरहेको र २०८४ सम्मै यसलाई बलियो बनाउने आपसी सहमति रहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved