काठमाडौं । काङ्ग्रेसले सरकारको कामकारबाहीमा सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतल जानकारी दिए ।
‘सरकारको प्रभावकारितामा सुधार आवश्यक रहेको र यसले सशक्ति डेलिभरी प्रदान गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ महतले भने ।
बैठकले राजनीतिक नियुक्तिमा सन्तुलन आवश्यक रहेको निष्कर्ष निकालेको छ । ‘गठबन्धन दलको सरकार भएकाले प्रधानमन्त्रीले भनेको मात्रै नियुक्ति हुँदैन । यसमा सन्तुलन आवश्यक छ भन्ने छलफल भएको छ । गठबन्धन दलबीच तालमेल आवश्यकता छ । एउटै दलको सबैथो हुँदैन,’ उनले भने ।
बैठकले सरकारको आलोचना गरिरहेका नेता कार्यकर्तालाई पनि सचेत गराएको प्रवक्ता महतले बताए । ‘बाहिर बाहिर कुरा राख्नुभन्दा संयन्त्रमा कुरा राख्नु उचित हुन्छ । संयन्त्रको निष्कर्षका आधारमा बाहिर धारणा व्यक्त गर्ने कुरामा सचेत गराइएको छ,’ उनले भने ।
बैठकमा महाधिवेशन हुन नसकेका भ्रातृ संगठनका विषयमा केन्द्रीय समितिमा छलफलका लागि प्रतिवेदन तयार गर्ने विषयमा पनि छलफल भएको प्रवक्ता महतले जानकारी दिए ।
Facebook Comment
Comment