काठमाडौं । हाल नेपालमा स्थानीय वायुको मुख्य प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।
आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण कृषि, दैनिक जीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Facebook Comment
Comment