लिमा । पेरूकी राष्ट्रपति डिना बोलुआर्टेले गैरकानुनीरुपमा ‘रोलेक्सगेट’ घडी उपहार लिएको अभियोगमा संसद्मा महाभियोग लगाउन गरेको तयारी रोकिएको छ ।
संसदीय छानबिन उप–समितिले डिनाले उक्त घडी गैरकानुनी रुपमा उपहार (घुस) लिएको भन्ने आरोपमा कुनै सत्यता नभएको तर उक्त घडी राष्ट्रपतिका साथीले पैसा तिर्नेगरी किनिदिएको ठहर गर्दै उनलाई भ्रष्टाचार आरोप र महाभियोगको सामना गर्नुपर्ने प्रस्तावबाट जोगाएको छ ।
यससँगै पेरूको कङ्ग्रेसले उनीविरुद्धको भ्रष्टाचारको अनुसन्धान रोकेको छ।
उक्त आरोपमाथि सुनुवाइ गर्दै उपसमितिले राष्ट्रपतिको गहिरो अलोकप्रियतालाई थप बिगार्न सक्ने उक्त मुद्दा खारेज गर्न शुक्रबार सिफारिस गरेको थियो ।
सन् २०२६ को जुलाईमा ६२ वर्षीया डिनाले पद छोड्दा र राष्ट्रपतिको उन्मुक्ति गुमाउँदा उनीमाथिको यो मुद्दामा अझै पनि सफाइ नहुन सक्छ ।
सन् २०२४ को मार्चमा राष्ट्रपतिसँग रहेको अघोषित महङ्गो रोलेक्स घडी र गहनाको भण्डार फेला परेपछि तथाकथित ‘रोलेक्सगेट स्क्यान्डल’ सुरु भएको थियो ।
डिनाले अभियोजकसमक्ष घडीहरू एक मित्रद्वारा पैसा तिर्नेगरी किनिदिएको बताएपनि महान्यायाधिवक्ताले कङ्ग्रेसमा त्यसलाई घुसस्वरुप आर्जन गरेको सम्पत्तिका रुपमा औपचारिक आरोप प्रस्तुत गरेका थिए ।
समर्थन अनुमोदन दर एकल अङ्कमा रहेकी राष्ट्रपतिको संसद्मा कुनै पार्टी वा नेतृत्व रहेको छैन, तर सत्तारुढ कन्जरभेटिभ पार्टीहरूको समर्थन छ।
सन् २०२३ मा नाकको शल्यक्रियाका लागि दुई हप्तासम्म अघोषित रुपमा अनुपस्थित भएको विषयमा डिनाले छुट्टै छानबिनको सामना गर्नुपरेको छ, जुन उनले कस्मेटिक उद्देश्यले नभई मेडिकल उपचारका लागि गरिएको बताएकी थिइन् ।
पेरू लामो समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ र विगत आठ वर्षमा त्यहाँ ६ जना राष्ट्रपति भएका छन् ।
सन् २०२२ को डिसेम्बरमा डिनाले वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोलाई विस्थापित गर्दै पदभार ग्रहण गरेकी थिइन् । उनी क्यास्टिलोको उपराष्ट्रपति थिइन् । पेरूमा आगामी राष्ट्रपति र विधायिकाको निर्वाचन सन् २०२६ को अप्रिलमा हुनेछ ।
Facebook Comment
Comment