काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपाल शिक्षक महासङ्घले आम शैक्षिक हड्ताल घोषणा गरेपछि कोइरालाले समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।
“नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु ।” कोइरालाले भने ।
शिक्षक महासङ्घले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेको छ । देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
शिक्षकहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनले शिक्षा ऐन जारी गर्न माग गरिरहेका छन् ।
Facebook Comment
Comment