काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरहरूको बैठक सिंहदरबारमा सुरु भएको छ ।
शुक्रवार राजतन्त्र पक्षधरहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेपछिको परिस्थितिका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री ओलीले आह्वान गरेको बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपमहासचिव समेत रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विज्ञ सल्लाहकार अग्नि खरेललगायत छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला, गृहमन्त्री रमेश लेखकलगायत छन् ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाललगायत सहभागि छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षमा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी छन् । लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी छन् ।
यस्तै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र विप्लव नेतृत्वको नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा पनि उपस्थित छन् ।
बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ ।
Facebook Comment
Comment