काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करसम्बन्धी नयाँ घोषणा गरेका छन् । यस अनुसार अमेरिका आउने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लाग्नेछ ।
ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको बीबीसीको समाचारमा विश्लेषण गरिएको छ ।
ट्रम्पले नयाँ करहरू अप्रिल २ देखि लागू हुने बताएका छन् । कारका पार्टपुर्जामा यी करहरू मे महिना वा पछि सुरु हुनेछन् ।
राष्ट्रपति ट्रम्पले भने आफ्नो कदमले कार उद्योगमा ’ठूलो वृद्धि’ हुने दाबी गरेका छन् । उनले यो कदमले अमेरिकामा रोजगारी र लगानी पनि बढाउने पनि वाचा गरेका छन् ।
तर, यस विषयमा विज्ञहरूको राय फरक छ ।
ट्रम्पको कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रुपमा रोकिन र मूल्य बढ्न सक्ने उनीहरूको प्रक्षेपण छ । साथै सहयोगी देशहरूसँगको सम्बन्धमा तनाव उत्पन्न गर्न सक्ने उनीहरूको विश्वास छ ।
अमेरिकाले गत वर्ष लगभग ८० लाख कार आयात गरेको थियो, जुन लगभग २४० अर्ब डलर बराबरको व्यापार थियो ।
अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ । यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी पर्छन् ।
ट्रम्पको नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृङ्खलालाई असर गर्ने खतरा बढेको विज्ञहरूको चेतावनी छ ।
Facebook Comment
Comment