वार्षिक १० हजार जनशक्ति उत्पादन गर्न आइएमई ग्रुपले सुरु गर्‍यो प्राविधिक शिक्षालय

नेपालभ्युज

वार्षिक १० हजार जनशक्ति उत्पादन गर्न आइएमई ग्रुपले सुरु गर्‍यो प्राविधिक शिक्षालय

काठमाडौं । वार्षिक १० हजार जनशक्ति उत्पादनको लक्ष्यसहित आइएमई ग्रुपले प्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ ।

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा ल्याइएको हो। आइएमई ग्रुपको प्राविधिक शिक्षालयको मङ्गलबार काठमाडौंको धुम्बाराहीमा श्रम मन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका छन्

प्राविधिक शिक्षालयले हस्पिटालिटी, केयर गिभिङ, बारिस्तालगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक विधामा तालिम सञ्चालन गर्ने छ । उक्त प्राविधिक शिक्षालयले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आइएमई ग्रुपले आफ्नो अढाई दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैङ्क तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, क्षेत्रमा उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको छ ।

आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।

स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री बताए ।

कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौं टेक्निकल स्कूलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको उल्लेख गरे ।  ‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कूलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ’, उनले भने ।

सरकारले पनि प्राविधिक स्कूल तथा तालिम केन्द्रहरूको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं टेक्निकल स्कूल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामी दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा स्कूलले सहयोग पुर्‍याउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved