दलितको घर भत्काउनेलाई रिहा गर्न जसपाको माग, प्रशासनमा बुझायो ज्ञापनपत्र

नेपालभ्युज

दलितको घर भत्काउनेलाई रिहा गर्न जसपाको माग, प्रशासनमा बुझायो ज्ञापनपत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहितलाई रिहा गर्न माग गरेको छ। आइतबार सिराहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै जसपाले उनीहरुलाई अन्यायपूर्वक थुनामा राखिएको दाबी गरेको छ।

जसपाले सिराहा प्रहरीले चैत ८ गते अध्यक्ष यादव, पूर्व वडाध्यक्ष दिलीप यादव लगायतलाई छलफलका लागि बोलाएर कुनै पूर्व जानकारी बिना थुनामा राखेको आरोप लगाएको छ। भोलिपल्ट उनीहरुमाथि झुटो आरोप लगाई छुवाछूतसम्बन्धी मुद्दा लगाइएको जसपाले जनाएको छ।

जसपा नेपालका सिराहा जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा गाउँपालिका अध्यक्ष जस्तो सम्मानित पदमा रहेका जनप्रतिनिधिलाई अन्यायपूर्वक थुनामा राख्न नहुने भन्दै उनीहरुको तत्काल रिहाइको माग गरिएको छ। उनीहरु सवार मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको भन्दै जसपाले यसलाई मानवअधिकारको उल्लङ्घन भनेको छ। रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी समेत जसपाले दिएको छ।

आगामी जेठ १७ गतेबाट हुने विष्णु महायज्ञको लागि गत फागुन १० गते गाउँपालिका अध्यक्ष यादवसहितले स्थानीय दीपक मरिक डोमको घर भत्काएका थिए। गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो। शनिबार उनीहरुमाथि जातीय विभेद तथा छुवाछूत कसुरमा जाहेरी दर्ता भएको छ। सिराहा जिल्ला अदालतले उनीहरुलाई पाँच दिन थुनामा राख्न म्याद थप गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved