सुर्खेत । कर्णाली तेस्रो चलचित्र कार्यशाल सम्पन्न भएको छ । अभिनय, छायांकन तथा चलचित्र निर्माणका विषयमा प्रयोगात्मक र सैद्धान्तिक प्रशिक्षण सहित कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालामा सहभागीहरूले छोटो चलचित्र समेत निर्माण गरेका थिए । यसले प्रशिक्षार्थीलाई अभिनय र चलचित्र निर्माणका आधारभूत ज्ञान प्रदान गरेको आयोजकको विश्वास छ ।
कार्यशालाको समापन समारोहमा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको चलचित्र क्षेत्र संस्थागत रूपमा अघि बढ्न नसकेको बताउँदै यसलाई व्यवस्थित रूपमा विकास गरिने बताए । ‘कार्यशालाले मात्र सबै समस्या समाधान गर्न सक्दैन । यो त आधारभूत प्रक्रिया मात्र हो । अहिले चलचित्र क्षेत्रमा व्यक्तिगत प्रयासहरू भइरहेका छन्, तर अब यसलाई संस्थागत रूपमा अघि बढाउनु आवश्यक छ,’ उनले भने ।
कार्यशालाका सभाध्यक्ष तथा आयोजक संस्था केबी मनोरञ्जन एन्ड ग्रुप प्रालिका अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीका कलाकारलाई आत्मनिर्भर बनाउन अझै धेरै प्रयास आवश्यक रहेको बताए । उनले भने, ‘पहिलो, दोस्रो र तेस्रो कार्यशाला सञ्चालन गर्दा धेरै चुनौतीको सामना गर्नुपर्यो। तर हाम्रो उद्देश्य सिक्ने र सिकाउने नै हो ।’
खड्काले चौथो संस्करण सञ्चालन गर्ने उत्साह रहेको बताउँदै कार्यशालाले चलचित्रमा सुधार गर्नुपर्ने पक्षहरू पहिचान गर्न सघाएको धारणा बताए ।
कार्यक्रममा गणेशभक्त गौतमलाई श्रष्टा सम्मान २०८१ द्वारा सम्मानित गरिएको छ । कर्णाली प्रदेशमै बसेर रंगकर्म, अभिनय र सिर्जनात्मक क्षेत्रमा गरेको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
कार्यशालामा २३ जना प्रशिक्षार्थीले ७ दिनसम्म अभिनय, छायांकन तथा चलचित्र निर्माणसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान लिएका थिए । प्रशिक्षणको सहजीकरण रङ्गकर्मी सरिता गिरी, रङ्गकर्मी गणेशभक्त गौतम, चलचित्रकर्मी यमनारायण आचार्य, तथा निर्देशक तथा छायाँकार राजु केसीले गरेका थिए
Facebook Comment
Comment