पाथीभरामा हिमपातबीच शनिबार एक हजार ६९८ तीर्थयात्री पुगे

नेपालभ्युज

पाथीभरामा हिमपातबीच शनिबार एक हजार ६९८ तीर्थयात्री पुगे
फाइल तस्वीर

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात भइरहेको छ । दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिमपात भइसकेको छ । हिमपातपछि यहाँ केही चिसो बढेको उनले बताए । ‘जिल्लाका अधिकाङ्श क्षेत्रमा सामान्य वर्षा भएको छ । वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी भएका छन्,’ उनले भने ।

यसैबीच, शनिबार मात्रै पाथीभरा मन्दिरमा एक हजार ६ सय ९८ तीर्थयात्री पुगेका छन् । पुस महिनायताको यो सबैभन्दा बढी सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

पाथीभरामा विशेषगरी दशैँ, रामनवमी तथा अन्य धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । उनका अनुसार मौसममा सुधार आएसँगै समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा न्यानो महसुस हुन थालेपछि तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भइरहेको हो । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved