काठमाडौं । देशको पहिलो र एक मात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग ‘एनसेल नेपाल सुपर लिग’ (एनएसएल) को तेस्रो सिजनमा टिकेटिङ पार्टनर खल्ती, आइएमई पे रहेका छन् ।
एनएसएल, खल्ती र आइएमई पेबीचको त्रिपक्षीय सम्झौतामार्फत स्थापित साझेदारीअन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिने बताइएको छ । मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ ।
समर्थकहरूले खल्ती र आइएमई पेमार्फत डिजिटल वालेट, मोबाइल बैङ्किङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सकिने जनाइएको छ ।
यसको सहकार्यको बारेमा बोल्दै नेपाल सुपर लिग एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, “नेपालका सबैभन्दा विश्वसनीय दुई डिजिटल पेमेन्ट प्लेटफर्महरू खल्ती र आइएमई पेसँग हात मिलाउन पाउँदा हामी खुसी छौँ । यो साझेदारीले टिकेटिङलाई सरल बनाउने र फ्यानहरूलाई आफ्नो सिट सहजै सुरक्षित गर्न सघाउने छ ।’
यही भावनालाई जोड दिँदै आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “नेपाल सुपर लिगको साझेदारको रूपमा नेपाली फुटबलको विकासलाई समर्थन गर्न पाउँदा आईएमई पे गर्व गर्दछ । हामीले एनएसएल र खल्तीसँग सहकार्य गर्दै खेलकुद क्षेत्रको विकासमा सघाउने र सिमलेस डिजिटल सोलुसन मार्फत फ्यान एक्सपिरियन्स बढाउने लक्ष्य राखेका छौँ ।’
उत्साहलाई निरन्तरता दिँदै खल्ती प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले थपे, ‘हामी एनपीएल र इन्टरनेसनल वुमेन च्याम्पियनसिपको अभूतपूर्व सफलतापछि आईएमई पे र एनएसएलसँग मिलेर यस अविश्वसनीय यात्रामा साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ ।’
Facebook Comment
Comment