काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राजतन्त्र नफर्किने भन्दै दलभित्रको राजतन्त्र भने अन्त्य गर्नुपर्ने बताएका छन् । संसदमा विशेष समयमा बोल्दै उनले दलहरूभित्र झाँगिदै गएको राजतन्त्र अन्त्य हुनुपर्ने माग गरेका हुन् ।
‘मलाई राजतन्त्र फर्किन्छ भन्ने डर छैन तर हामीभित्रको कमजोरी सच्चाएर अघि बढ्न सक्छौँ वा सक्दैनौँ भन्ने डर छ,’ उनले भने ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताउँदै उनले दलहरूले कमीकजोरी सच्याउन केन्द्रित हुनुपर्ने बताए । ‘नयाँ पुस्ताको सोच र हाम्रो आवश्यकता अनुसार अघि बढ्न नसक्दा निराशा छाएको छ । यी निराशा चिर्नैपर्छ,’ उनले भने ।
दलहरूकै कारण जनतामा निरासा उत्पन्न भएकाले अब सच्चिन ढिला गर्न नहुने उनले बताए । ‘संविधान निर्माणपछि त्यसको कार्यान्वयनतिर आर्थिक विकासतिर दत्तचित्त भएर लाग्नुपर्थ्यो । यसप्रति भन्दा पनि पार्टीका नेताहरू सत्ताको खिँचातानी एकअर्काप्रति गालीगलौज लाञ्छना लगाउने र अवसर आउँदा अप्राकृतिक गठबन्धनमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यास र संस्कारमा समस्या आएको हो,’ उनले भने ।
गणतन्त्रपछि मुलुकमा पूर्वाधार निर्माण र मानव सुचाङ्कका हिसाबले धेरै प्रगति भएपनि ती कुरा जनतामा स्थापित गर्न नसकिकएको उनले बताए । प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो बनाउने भन्दा पनि केन्द्रीकृत चिन्त सहित ती संरचनालाई कमजोर बनाउँदा नागरिकामा निराशा थपिएको उनको भनाइ छ ।
‘प्रशासनिक संरचना नागरिकलाई सेवा प्रवाह गर्ने भन्दा पनि जनतालाई सताउने खालका छन् । शिक्षा, रोजगारी सिर्जना तथा सुशासनमा धेरै काम गर्न बाँकी छ,’ उनले भने ।
दलहरूले आफुलाई सच्याउँदै व्यवस्थालाई सुदृढ बनाउन केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
Facebook Comment
Comment