२५ करोड बरामद घटना : सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए ट्रक चालक, यसरी समातियो

नेपालभ्युज

२५ करोड बरामद घटना : सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए ट्रक चालक, यसरी समातियो

काठमाडौं । टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड रुपैयाँभन्दा बढीको विदेशी मुद्रासहित बरामद गरिएको ट्रकका चालक यसअघि सुन काण्डमा जेल बसेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

सोमबार झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रकबाट लगभग २५ करोड १ लाख ६० हजार नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको थियो । मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटन प्रयोग गरी मुद्रा लुकाइएको थियो ।

उक्त ट्रक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१, का ४३ वर्षीय कुसाङ लामाले चलाएका थिए ।

उनी ७ किलो सुन तस्करी प्रकरण्मा भरियाको अभियोगमा ५ वर्ष जेल बसेर जेलबाट छुटेको पाइएको प्रहरीले जनाएको छ । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

उक्त विदेशी मुद्रा सुन ल्याउन लैजान लागेको हुनसक्ने प्रहरीको आशङ्का छ । हिरासतमा लिएर थप अनुसन्धान गरेपछि विस्तृत खुल्ने प्रहरीले जनाएको छ ।

अहिले नै कुन प्रयोजनका लागि उक्त रकम लैजान लागिएको भन्न नसकिने प्रहरीले बताएको छ ।

यसरी गरियो पक्राउ

विशेष सुराकीको आधारमा ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मलेनमा एक प्रहरी अधिकृतले भने, “विशेष सुराकीको आधारमा अवैध मुद्रा बोकेको एउटा गाडीमा झोरको बाटो हुँदै रसुवातिर गइरहेको कुरा गयो । केही स्थानमा अपरेशन सञ्चालन गरियो । पैसा लुकाउन सक्ने क्षेत्रको विश्लेषण गरी हाम्रो टिम त्यसतर्फ गयो । गाडीलाई रोकेर ड्राइभरसँग सोधपुछ गर्दा शङ्का लागेपछि नियन्त्रणमा लिएका हौँ ।”

काठमाडौं ल्याएर ट्रक चेक गरेकोसमेत प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved