पाँचथर । सदरमुकाम फिदिममा आयोजित पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सप्तरीको नमोबुद्ध युवा फुटबल क्लबले जितेको छ ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि उचालेको हो ।
नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले ७३औँ मिनेटमा निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा उपविजेतामा सीमित बन्यो ।
उपाधि जितेको नमोबुद्धले ११ लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता टोलीलाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दीपक खतिवडा, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकलगायतले पुरस्कार वितरण गरे ।
नमोबुद्ध ‘ए’ डिभिजनका तीन क्लबलाई हराएर विजेता बनेको हो । नमोबुद्धले क्वाटरफाइनलमा नेपाल पुलिस क्लब तथा सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई पराजित गरेको हो । प्रतियोगिताको विधागत पुरस्कारसमेत अधिकाङ्श नमोबुद्धकै खेलाडीले प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक जयनाथ शेख, उत्कृष्ट प्रशिक्षक धनकुमार तामाङ, उत्कृष्ट मिडफिल्डर विवेक राई र फाइनल खेलको उत्कृष्ट खेलाडी नमोबुद्धकै निर्मल घिसिङ घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित नमोबुद्धका दीपेश चाम्लिङले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै प्रतियोगिताको उत्कृष्ट रक्षक मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने प्रतियोगिताको उदयीमान खेलाडीका रूपमा आयोजक पाँचथर क्लबका निरोज लिङ्देन पुरस्कृत भए । प्रतियोगितामा समान तीन गोल गरेका नमोबुद्धका विदेशी खेलाडी स्टेफेन र चर्च ब्वाइजका राज भुसालले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे ।
भारतको एक र अन्य नेपाली गरी आठ फुटबल टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता गत फागुन २४ गते सुरु भएको थियो ।
Facebook Comment
Comment