एकीकृत समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला : सम्पूर्ण तयारी पूरा

नेपालभ्युज

एकीकृत समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला : सम्पूर्ण तयारी पूरा
फाइल तस्वीर ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी चैत १ गते गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा आयोजना गरिने कार्यक्रमका लागि आवश्यक तयारी पूरा गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

पार्टीनिकट जनवर्गीय सङ्गठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् । शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्नेछन् ।

पार्टीका सबै तहका कमिटीहरू परिचालन गरी देशभर सङ्गठित सदस्य विस्तार तथा सङ्गठन थप सुदृढीकरण गर्ने राजनीतिक अभियान सञ्चालन गरिने छ । बाँकी रहेका वडा, क्षेत्र, जिल्ला, प्रदेशका अधिवेशन गरी कमिटी गठन गरिने जनाइएको छ । पार्टीले तल्लो कमिटीदेखि माथिल्लो तहका कमिटीका सुझाव समेटेर समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज साथै साङ्गठनिकलगायत अन्य दस्तावेज टुङ्ग्याउने उनले जानकारी दिए ।

दस्तावेज टुङ्गो लगाउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदलसमेत गठन गरेको पार्टीले आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved