शेख हसिना परिवारको सम्पत्ति जफत गर्न अदालतको आदेश

नेपालभ्युज

शेख हसिना परिवारको सम्पत्ति जफत गर्न अदालतको आदेश

काठमाडौं । ढाकाको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना परिवारको सम्पत्ति जफत गर्न आदेश दिएको छ । जसमा हसिनाको धनमन्डीस्थित निवास ‘सुदासाधन’ र उनको परिवारको १२४ बैङ्क खाता समावेश छ ।

भ्रष्टाचार निवारण आयोग (एसीसी)को निवेदनमा अदालतले यस्तो आदेश दिएको बीबीसी बङ्गलाले जनाएको छ ।

अदालतले हसिनाका पति स्वर्गीय आणविक वैज्ञानिक एमए वाजेद मियाँको नाममा रहेको ‘सुदासाधन’ घर जफत गर्ने आदेश पनि दिएको छ । यसबाहेक हसिनाको परिवारका अन्य सदस्यहरू जस्तै उनका छोरा सजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका छोरीहरू ट्युलिप सिद्दीकी र रदवान मुजीबुर सिद्दीकीको सम्पत्ति पनि जफत गर्न भनिएको छ ।

यति मात्र होइन, फेब्रुअरी ६ मा बङ्गलादेशको विदेश मन्त्रालयले पूर्व प्रधानमन्त्री शेख हसिनाले सामाजिक सञ्जाल र अन्य प्लेटफर्महरूमा निरन्तर दिइरहेका झूटा र बनावटी अभिव्यक्तिहरूको बारेमा भारत सरकारसँग कडा विरोध दर्ता गरेको थियो ।

बङ्गलादेश सरकारले हसिनाको अभिव्यक्तिले जनताको भावनामा चोट पुर्‍याएको र देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको बताएको छ ।

साथै, ढाकास्थित भारतका कार्यवाहक उच्चायुक्तलाई पठाइएको विरोध पत्रमा बङ्गलादेशले भारतमा रहँदा सामाजिक सञ्जाल र सञ्चारका अन्य माध्यमहरू प्रयोग गरेर शेख हसिनालाई यस्ता उत्तेजक अभिव्यक्ति दिनबाट रोक्नको लागि उचित कारबाही गर्न भारतलाई अनुरोध गरेको छ ।

गत वर्षको अगस्ट ५ मा विद्यार्थीहरूको नेतृत्वमा भएको विशाल विरोध आन्दोलनले सरकार ढलेको थियो । समयसँगै यो आन्दोलनले यस्तो रूप लियो कि यसमा ६०० भन्दा बढी मानिसहरूले ज्यान गुमाए, जसका कारण हसिना बङ्गलादेशबाट भाग्नुपर्‍यो ।

त्यसपछि हसिना भारत भागिन् र पूर्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved