पाकिस्तान रेल अपहरणः २० जना सेना मारिए, १८२ यात्रु बन्धक

नेपालभ्युज

पाकिस्तान रेल अपहरणः २० जना सेना मारिए, १८२ यात्रु बन्धक

काठमाडौं । पाकिस्तानमा बलुच लिबरेशन आर्मी  (बीएलए) ले मंगलबार गरेको रेल अपहरणको क्रममा २० पाकिस्तानी सैनिकको हत्या गरेको छ भने १८२ यात्रुलाई बन्धक बनाएको छ ।

४५० जना यात्रु रहेको जनाइएको जाफर एक्सप्रेसमा दिउँसो १ बजेतिर हमला गरिएको थियो । रेल क्वेटाबाट पेशावर जाँदै थियो ।

यो घटना क्वेटा देखि पेशावरको मार्गमा बलुचिस्तानको बोलान जिल्लाको माशकाफ क्षेत्रमा भएको हो। ६ घण्टा पछि साँझ ७:३० बजेसम्म पनि जाफर एक्सप्रेस पूर्ण रूपमा बीएलएका लडाकूहरूको नियन्त्रणमा रहेको छ।

बीएलएले बोलानको माशकाफमा गुडालार र पीरू कुनरीको बीचमा यो हमला गरेको हो। यो एक पहाडी इलाका हो, जहाँ १७ वटा सुरुङहरू छन् । यिनै कारणले रेल ढिलो गतिमा चलाउनुपर्छ। यसको फाइदा उठाउँदै बीएलएले रेलमा आक्रमण गरेको हो ।

यो पनि पढ्नुहोस्-

पाकिस्तानमा रेल अपहरण गर्ने बलुचिस्तान लिबरेशन आर्मी कस्तो समूह हो ?

रेलमा सुरक्षा बल, प्रहरी र आईएसआईका एजेन्टहरू यात्रारत रहेको केही सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको जानकारी पाएपछि पाकिस्तानी सेनाले बीएलएमाथि स्थलगत हमला र हवाइमार्गबाट पनि प्रहार गरेको थियो । तर बीएलएका लडाकूहरूले स्थलगत हमला रोकेका छन् ।

बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ ।

केही समय अगाडि मात्र बीएलएले पाकिस्तान र चीनविरुद्ध हमलाको चेतावनी दिएको थियो ।

दुई दिन अगाडि मात्र अमेरिकाले पाकिस्तानमा यात्रा नगर्न भन्दै आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको थियो ।

उसले आफ्नो एडभाइजरीमा पाकिस्तानमा आतङ्कवादी र सैन्य हमला हुनसक्ने चेतावनी दिएको थियो ।

यसअघि नोभेम्बर १४ मा क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । ५० भन्दा बढी व्यक्ति घाइते भए । त्यतिबेला पनि आतङ्कवादी समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved