औद्योगिक विकास र रोजगारी सृजनाका लागि वातावरण निर्माण पहिलो प्राथमिकता : अध्यक्ष ढकाल

नेपालभ्युज

औद्योगिक विकास र रोजगारी सृजनाका लागि वातावरण निर्माण पहिलो प्राथमिकता : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेशमै रोजगारी सृजनाका लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घ लगायत विभिन्न संघसंस्थाहरूको सहआयोजनामा काठमाडौंमा सुरु भएको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले रोजगारी सिर्जना र लगानीकर्ताहरूलाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेको बताए।

अध्यक्ष ढकालले नेपालमा श्रमशक्तिको उपयोग गर्न सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्द्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले नेपाली श्रमशक्तिले नेपालमै पर्याप्त अवसर नपाइरहेको र रोजगारदाताले खोजेजस्तो सीपयुक्त जनशक्ति प्राप्त गर्न नसकिरहेको अवस्थामा रोजगारीको माग, आपूर्ति, सीप विकास र रोजगार सम्बन्धमा देखिएको अन्तरलाई विश्लेषण गर्दै नयाँ अवसर खोज्नुपर्ने बताए। त्यसका लागि लगानीको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

रोजगारी सिर्जनाको मुख्य भूमिका निजी क्षेत्रको हुने भन्दै उनले औद्योगिक वातावरण सिर्जना गर्ने नीति नियम बनाउँदा असहज परिस्थिति बन्न नहुनेमा जोड दिए। नेपालको कूल रोजगारीको ८६ प्रतिशतभन्दा बढी रोजगारी निजी क्षेत्रले सिर्जना गरेको जानकारी दिँदै उनले निजी क्षेत्रले लगानी गर्दा सरकार र स्थानीय बासिन्दालाई समेत फाइदा पुग्ने भएकाले विकास निर्माण र पूर्वाधार विकासमा सरकार, राजनीतिक दल र निजी क्षेत्रको एउटै धारणा बन्नुपर्ने बताए।

सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको सन्दर्भमा उत्पादन र उत्पादकत्व विस्तार तथा आन्तरिक रोजगारीको आधार खोज्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले बताए। औद्योगिक वातावरण निर्माणका लागि रोजगारदाता र ट्रेड युनियन सङ्घठनबीच सुमधुर सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै उनले महासङ्घले रोजगारदाता र श्रमिकबीच सुमधुर सम्बन्ध राख्ने गरी कार्य गरिरहेको जानकारी दिए।

महासङ्घको पहलमा सरकारले विभिन्न कानूनहरू संशोधन गरी संसदबाट हालै पारित गरेको सकारात्मक भएको भन्दै उनले अब छिट्टै नियमावली तथा कार्यविधि ल्याउन सरकारलाई आग्रह गरे।

मुलुकको सामाजिक र आर्थिक रूपान्तरणमा नीतिगत र कानूनी सुधारका लागि पृष्ठपोषण लिने र नीतिगत र कार्यक्रमगत सुधारका लागि सुझाव प्राप्त गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा प्रधानमन्त्रीले रोजगारी सिर्जनाका लागि उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए। सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनले बताए। सो अवसरमा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगार प्रवर्द्धन दशक २०८१ र आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम २०८१ को शुभारम्भ गरेका थिए।

सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा लगायतले नेपालको श्रम बजार, चुनौती र रोजगारीका अवसरबारे धारणा राखेका थिए। सम्मेलनमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, महिला उद्यमी महासंघ लगायत रोजगारदाता संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू र विकास नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनमा विभिन्न विषयमा छलफल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved