इराकलाई इरानी बिजुली किन्ने छुट नरहने

नेपालभ्युज

इराकलाई इरानी बिजुली किन्ने छुट नरहने

बग्दाद । वासिङ्टनले इराकलाई छिमेकी मुलुक इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवालाई नवीकरण नगरिएको बग्दादस्थित अमेरिकी दूतावासका प्रवक्ताले आइतबार बताएका छन्।

आफ्नो अपार तेल र ग्यास भण्डारको बावजुद, इराक आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न आयातमा निर्भर रहन्छ, र इरानले त्यहाँ खपत हुने ग्यास र बिजुलीको एक तिहाई आपूर्ति गर्दछ।

“अमेरिकी विदेश मन्त्रालयले इराकलाई इरानी बिजुली खरिदका लागि मार्च ८ मा दिइएको छुटको नवीकरण गरेको छैन”, दूतावासका प्रवक्ताले भने, “यो निर्णयले अमेरिकी वर्तमान् प्रशासनले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत दिने छैन भन्ने सुनिश्चित गर्दछ।”

वक्तव्यमा इरानी ग्यास आयातको बारेमा उल्लेख गरिएको छैन, जुन इराकको घरेलु बिजुली उत्पादनको लागि महत्त्वपूर्ण छ।

ट्रम्पले आफ्नो पहिलो कार्यकाल अर्थात् सन् २०१८ मा इरानसँगको आणविक सम्झौता त्यागेपछि वासिङ्टनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएपनि उक्त छुटको घोषणा गरिएको थियो ।

गत जनवरीमा अमेरिकी राष्ट्रपतिको रूपमा सपथ खाएपछि ट्रम्पले इरानविरुद्ध आफ्नो ‘अधिकतम दबाब’ को नीति लाई पुनः स्थापित गरेका छन् ।

दूतावासका प्रवक्ताले भने, “राष्ट्रपतिको अधिकतम दबाब अभियान इरानको आणविक खतरा अन्त्य गर्न, ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई कम गर्न र आतङ्कवादी समूहलाई समर्थन गर्नबाट रोक्नको लागि डिजाइन गरिएको छ।

इरानलाई ‘अविश्वसनीय ऊर्जा आपूर्तिकर्ता’ को संज्ञा दिँदै प्रवक्ताले बग्दादलाई ‘जतिसक्दो चाँडो इरानी ऊर्जा स्रोतहरूमाथिको निर्भरता अन्त्य गर्न’ आग्रह गरे ।

इराकी सरकारका प्रवक्ता बासेम अल–अवाडीले शनिबार सरकारी सञ्चारमाध्यमलाई बताएअनुसार अधिकारीहरूले छूटको सम्बन्धमा ‘सबै परिदृश्यका लागि’ तयारी गरेका छन्।

बग्दादले इरानमाथिको निर्भरता कम गर्न र विशेष गरी गर्मीयाममा इराकको दीर्घकालीन विद्युत् कटौतीलाई कम गर्न ऊर्जा स्रोतहरू विविधीकरण गर्नुपर्ने आवश्यकतामा बारम्बार जोड दिँदै आएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved